Wednesday, December 26, 2012

Remembering Mahendra Ratna High

My reflections on Mahendra Ratna High School  (where I graduated from) as it celebrates its golden jubilee. Republished here from the school's souvenir (in Nepali). 

डा. धर्मानन्द अधिकारी
मैले अनारमनी, झापाको महेन्द्र रत्न माबिबाट एसएलसी गरेको २८ वर्ष जति भैसकेछ । हिजो जस्तो लाग्छ, पत्तो नपाइ समय बितेछ ।

आफ्नो बिद्यालय  ५० वर्ष पुगेको अवसरमा केही कुरा लेख्न पाउँदा म ‘नस्टाल्जिक’ बन्ने नै भएँ । के लेख्ने,  के भन्ने, मनमा थुप्रै कुराहरू उँडलिएर आए । प्रेसमा जानै लागेको यस स्मारिकामा संक्षिप्त रुपमै भए पनि म मेरा केही कुराहरू राख्दैछु ।

मैले शुरुमा भारतको  मणिपुर राज्यमा अंग्रेजी माध्यमको बिद्यालयमा पढेको थिएँ । किशोर अवस्थामा नेपाल आएपछि महेन्द्र रत्नमा कक्षा ९ मा भर्ना भएँ । नेपाली कहिल्यै नपढेको मान्छे, मेरो अग्नी परीक्षा शुरु भयो । त्यसताका कक्षा ९ र १० दुवै पाठ्यक्रमको आधारमा एसएलसी परीक्षा दिनुपथ्र्यो । पढाइको पहिलो दिनदेखि नै “फलामे गेट” को  ‘प्रेसर’ ममाथि प¥यो ।

सपना देख्नु र भविष्यको तयारी गर्नु शायद मानव जीवनको एउटा मुख्य विशेषता हो । त्यसमाथि पनि युवा सपनाहरू अर्थपूर्ण हुन्छन् किनभने भविष्य अनिश्चित हुन्छ र हिड्नु पर्ने बाटो पनि लामै हुन्छ । त्यसै बेला जीवनयात्राको तयारी गर्ने ध्याउन्नमा के–के कुरा मनमा आउँदैनन्— मैले राम्रो गर्नुपर्छ, उपयुक्त सीपहरू सिक्नुपर्छ, हरेक शैक्षिक मूल्यांकनमा सकेसम्म उत्कृष्ट हुनुपर्छ ! 

मैले राम्रो गर्नु थियो नेपाली भाषामा । गणीत अर्को चिन्ताको विषय थियो । तयारीका लागि समय धेरै थिएन, अरु कुराहरमा मेरो ध्यानै गएन । मेरो सौभाग्य नै भन्नुपर्छ, साहित्य लेखनप्रतिको मेरो सुषुप्त रुचीलाई नेपाली अध्यापन गर्ने आदरणीय सर बिष्णु भट्टराईले शुरुमै र सहजै रुपमा ठम्याइदिनु भयो । अनि त के चाहिन्थ्यो, मैले कापीका कापी भर्न थालें, जानी नजानी नेपाली भाषामा कविताहरू कोर्दै । कुनै पनि सिकारु स्रष्टाले सुनिदिने मानिस पाउनु, झन सहयोगी, उत्सुक करुण समीक्षक पाउनु कम प्रेरणादायी कुरा होइन । 

कविताका कापीहरू बोकेर बिद्यालय बाहिर अनि शनिश्चरे नजिक बिष्णु सरको घरमै पुगेर पनि कति पटक म उहाँका अमूल्य गुरुवचनहरुबाट लाभान्वित भएँ । “धर्मानन्द, यो राम्रो लाग्यो, लेख्दै जाऊँ, तिमीले राम्रो गर्न सक्छौं ।” उहाँका शब्दहरू अहिले पनि कानमै गुञ्जिरहेछन् ।

एउटा रोचक घटना पनि छ जसले अप्रत्यासित रुपमा मेरो नेपाली सिकाइप्रतिको असहज परिस्थितिलाई सँधैका लागि सकारात्मक रुपमा परिवर्तन गरिदियो । कक्षामा एक दिन बिष्णु सरले अनुकरणात्मक शब्दहरू सिकाउन थाल्नुभयो— ह्वात्त, ल्वात्त, टपक्क, झ्याप्प, ग्वाम्म... 

किशोर अवस्थासम्म बिद्यालय परिसरभित्र अंग्रेजी मात्र बोल्नुपर्ने पृष्ठभूमिबाट आएको मैले यसरी निर्धक्क ठेट नेपाली भाषा जीवनमा कहिल्यै पढ्न पाएको थिइन । एकातिर यी शब्दहरुले मेरो भित्री नेपाली अन्तरआत्मालाई नै घतलाग्ने गरी छोए भने अर्कोतिर ‘सिकाइ’ को यस्तो उन्मुक्त शैलीप्रति मलाई तत्काल असाध्यै हाँसो लाग्यो । यतिसम्म कि हाँसोको फोहोरा नछुटोस् र कक्षामा ‘तमासे’ बन्न नपरोस् भनेर म हातले ओठहरू थिचेर कक्षा चलिरहेकै अवस्थामा अचानक बाहिर निस्कें । 

त्यो घटनाबाट मैले एउटा महत्वपूर्ण कुरा सिकें । इच्छा गरी लगनशील हुने हो भने नेपाली भाषा ख्याल–ठट्टा गर्दागर्दै पनि सिक्न सकिने रहेछ । कक्षामा मात्र होइन घर परिवार र समाजमै दिनहुँ यस्ता प्रशस्तै सिक्ने अवसरहरू हुँदारहेछन् । यति हो, त्यस्तो सिकाइलाई शुद्ध ढंगमा लेखेर उतार्न सक्दा परीक्षा पनि उत्तीर्ण हुने नै भइयो । हुन पनि त्यस्तै भयो, लगातारको अभ्यास पछि ९ कक्षाको अन्तिम नेपाली  परीक्षामा मैले सोच्दै नसोचेको परिणाम आयो । मैले कक्षामै उत्कृष्ट अंक पाएको थिएँ ।

अर्कोतिर अंग्रेजी विषयमा मैले त्यति समय दिइन । बिडम्वना भन्नुपर्ला, कहिले काही अंग्रेजीका शिक्षक ब्रजनन्दन झाले “ल आज धर्मानन्दले पढाउँछन्” भनेर कक्षा नै छोडिदिनु हुन्थ्यो । आफ्नै सहपाठीहरुलाई “पढाउँदै” गरेको अवस्थामा अन्य कक्षाका बिद्यार्थीहरुले झ्यालबाट चियाउदाका अनौठा अनुभूतिहरू पनि मैले गरें । 

नेपाली विषय मै बढी ध्यान दिंदा अन्य विषयहरू खास गरी गणीतमा पछि परें । सेन्ड–अपको रिजल्टपछि हेड सर दाताराम खनालले एक दिन मलाई आफ्नै कार्य कक्षमा डाकेर तारिफ मात्र होइन गाली पनि गर्नुभयो । 
“के गरेको यस्तो ?” उहाँको प्रश्न थियो । 

एकातिर मैले जिल्लामै उत्कृष्ट नम्बर ल्याएको, इतिहास जस्तो विषयमा ९० कटाएको तर हिसावमा भने बल्लतल्ल पास भएको कुरा उहाँले बताउँनु भयो । गणितमा मिहिनेत गरे मैले एसएलसीमा बिद्यालयकै गरिमा बढाउन सक्ने उहाँको आशय थियो ।

मसँग एसएलसीका लागि दुई महिना मात्र थियो । चटपटे खाएर साथीहरुसँग कुरा गर्ने, यदाकदा क्यारमबोर्ड खेल्ने समय पनि रहेन । कहिल्यै ट्युसन नलिएकोे मैले ती दुईमहिना गणीत सिकाउने “एमएस्सी” सर (हरिवंश ंिंसंह) कहाँ दिनहुँ धाएर हिसाव सिकें । गणीत र बिजगणीत भन्दा पनि ज्यामितीमा मेरो रुची थियो । त्यही रुचीमा जोड दिने रणनीति बनाएर अध्यायन गरें ।

धेरै खुशीको कुरा, म एसएलसीमा पास भएँ । यसमा कुनै शंका छैन, केही समय अघिसम्म नेपाली लेख्न पनि नजान्ने मैले बेलैमा ध्यान नदिएको भए, आवश्यक मिहिनेत नगरेको भए त्यो फलामे ढोका मेरा लागि बन्द नै रहने थियो । तर अर्कोतिर महेन्द्र रत्नको स्मरण गर्दा मलाई सँधै दुःख लाग्ने कुरा के हो भने मैले हेड सर, बिष्णु सर लगायत अन्य शिक्षक–शिक्षिकाहरु, मेरा समकालीन सहपाठीहरू र सम्पूर्ण बिद्यालय परिवारलाई त्यस वर्षको परिणाममा नराम्ररी निरास पारें । 

बिद्यालयमा प्रथम भएपनि मैले औंलामै गन्न पुग्ने अंकको कमीले “फस्ट डिभिजन” ल्याउन सकेको थिइन ।

आज यो छोटो स्मरण लेख्दा ती दिनहरुलाई वस्तुगत रुपमा अलि टाढैबाट नियाल्ने अवसर मिलेको छ । प्रश्न गर्छु, अहिले आएर मेरा ती अनुभवहरुलाई कसरी हेर्ने, कसरी व्याख्या गर्ने ?

आज लाग्छ परम्परागत शैक्षिक वातावरणमा धेरै सीमितताबीच मैले जस्तै लाखौं स्कुले बिद्यार्थीहरुले ढुक्क बन्न नसकी नसकी सपनाहरू देख्नु पथ्र्यो । वर्षौं अघि ढलान गरिएको तर झ्यालहरू समेत नराखिएको र पूरै तयार भैनसकेको बिद्यालय भवनमा पढ्नुपथ्र्यो । पाठ्यपुस्तक घोक्नै पर्ने, परीक्षामुखी बन्नै पर्ने परिपाटीमा व्यक्तिगत सृजनात्मकता र व्यवहारिकताका लागि त्यति ठाउँ थिएन । ‘ओल्ड इज गोल्ड’ अर्थात् ‘पुराना कुरा सुन जस्तै मूल्यवान हुन्छन्’ भन्ने उक्ति त छ, तर त्यसताका शैक्षिक लगनशीलताका राम्रा उदाहरणहरू पाइने भए पनि परम्परागत शिक्षा प्रणालीमा चित्रण गरिने गुरु–चेला बीचको वैदिक आदर्श सम्बन्ध व्यवहारमा प्रशस्तैें भने थिएनन् । खेदको कुरा कक्षामा नबस्ने, नराम्रो लतमा लाग्ने, जाँचमा चिटिङ गर्ने, प्रत्यक्ष रुपमा शिक्षकका अगाडि अनुशासित बनेको जस्तो गर्ने तर पछाडि उनीहरुका कुरा काट्ने, उनीहरुलाई थरिथरीका अशिष्ट नामहरू राखिदिने र यदाकदा अभद्र व्यवहार गर्ने जस्ता उदाहरणहरू पनि देख्नु पथ्र्यो । आफू शिक्षक पनि भएको नाताले यो कुरा मैले यहाँ लेख्नैपर्छ किनकि हाम्रा मौलिक मूल्यमान्यताहरुको बड्दो ह्रास आज पनि शैक्षिक सुधारको एउटा ठूलो समस्या रहेको छ ।

बिगत २६ वर्षमा नयाँ बिचारहरु, परिपाटीहरुको अभ्योदय सँगै संचार प्रविधिको उदेकलाग्दो फड्को र तीब्र भूमण्डलीकरणका कारण संसारकै रुपरेखा व्यापक रुपमा फेरिएको छ । अन्तरक्रियात्मक, सहभागितामूलक शिक्षा  र सिकाइलाई सर्वत्र प्रोत्साहन गर्न थालिएको छ । क्यानडाली बिचारक मार्शल मक्लुहनले वर्षौअघि भनेझैं आज शहर (अहिले आएर गाउहरु समेत) कक्षा कोठा सरह बनेका छन् । 

सूचना र ज्ञानसँगको सहज पहुँचका कारण कुनै पनि ठाउँमा बसेर सिक्न सकिन्छ । यसरी बिद्यालयका पर्खालहरू भत्किन थालेका छन्, “बिद्यालय” को  अवधारणा नै परिवर्तन भएको छ । फलस्वरुप शिक्षक सहजकता र बिद्यार्थी सक्रिय  स्वअध्ययनकर्मी बन्नै पर्ने वातावरण सृजना भएको छ । व्यवसायिक लक्ष्यसँग मेल खानुमा आजको शिक्षाको व्यवहारिकता झल्किन्छ । तर सूचनामा सहज पहुँच हुनु, हाजिरी जवाफमा माहिर हुनु, ‘करेन्ट अफेयर्स’  (नेपालको सन्दर्भमा राजनैतिक बिषयहरु) मा सिपालु हुनु मात्र यस युगमा ज्ञानका उपयुक्त वा पर्याप्त माप होइनन् । 

व्यक्तिवादी बन्दै गएको आजको संसारमा सूचनाको बाढीबीच सिकारुले विश्लेषण मात्र होइन संश्लेषणका प्रभावकारी विधिहरू सिक्नुपर्ने अवस्था छ । सीप र ज्ञानका साथै विवेक र मानवीय संवेदनाहरुको उत्तिकै खाँचो छ । स्पष्ट छ, यी कुराहरुमा विद्यालयका अलावा परिवार र बृहत समाजको भूमिका अपरिहार्य छ ।

पश्चिमी संसारका शिक्षालयहरुमा यी अवधारणाहरुको अभ्यास विभिन्न ढंगमा भैरहेको छ र निजी क्षेत्रमा हामी कहाँ पनि यदाकदा प्रयोगको क्रममा छ । सामाजिक साख वा भविष्यको प्रतिष्पर्धाका लागि मात्र होइन व्यक्तिगत सृजनात्मकतामा केन्द्रित शिक्षाकै कारण पनि आजभोलि धेरै नेपाली युवाहरू विदेशी विश्वविद्यालयहरुमा भर्ना हुनेक्रम बढेको हो । 

बिद्यालयको अवधारणा, सिकाइको अर्थ परिवर्तन हुँदै गएपनि मेरा लागि महेन्द्र रत्नको मर्म अविचल छ । हो, समय सँगसँगै यस बिद्यालयमा पनि आज धेरै परिवर्तनहरू आएको हुनुपर्छ । म त्यहाँ नपुगेको पनि वर्षौं भयो । आज यस स्मरणले मलाई वस्तुतः विद्यालयमै पु¥यायो । 

त्यहाँ मैले २ वर्ष मात्र बिताएँ, तर यस बिद्यालयले सम्पूर्ण जीवनको तयारीका लागि मलाई ठाउँ दियो । यो ढोका हो, सौभाग्यवश मेरा लागि खुलिदियो जसरी यो हजारौ हजार अन्य किशोर किशोरीहरुका लागि खुलिदियो ।

शुरुमै भने, स्वर्ण जयन्तीको यस अवसरमा म ‘नस्टाल्जिक’ हुने नै भएँ । मैले धेरै लिएँ तर केही पनि दिन सकिन जस्तो लाग्छ । त्यस बेला देखेका सपनाहरू पूरा गर्दै जान सके मात्र पनि महेन्द्र रत्नलाई त्यो मेरो सच्चा उपहार हुने थियो ।

०४१ सालमा एसएलसी र अमेरिकाबाट पत्रकारितामा पीएचडी गर्नुभएका डा. धर्मानन्द अधिकारी काठमाडौंस्थित मिडिया फाउण्डेसनका सचिव हुनुहुन्छ । उहाँ ‘रिपव्लिका’ अंग्रेजी राष्ट्रिय दैनिक पत्रिकाका स्तम्भकार पनि हुनुहुन्छ ।

(Source:  Bidhyamani, souvenir marking the Golden Jubilee of Mahendra Ratna High School, Anarmani, Jhapa, Nepal, 2012, pages 60-62)




0 comments:

Post a Comment