The following is my article on the institutional history of Nepali media during the past two decades. It was published in a special supplement of the Nepali-language Kantipur newspaper, commemorating the 21st anniversary of Kantipur Media Group, a leading private sector media house in Nepal. Published on Feb 18, 2013 (pages ghā and jā of the print version).
संचारमा छलांग
धर्म अधिकारी
२०४६ को जनआन्दोलन पछि नेपाली पत्रकारिताले स्वतन्त्र बन्न पाएको अनुभूति गर्यो । तत्कालीन उदारोन्मुख प्रजातान्त्रिक व्यवस्थाले वाक तथा प्रेस माथिको नियन्त्रणलाई खुकुलो पार्दै जाँदा लगानीको सुरक्षा हुने देखि केही ठूला लगानीकर्ताहरु यस क्षेत्रमा आकर्षित भए ।
सँधै ‘टाइम्स अफ इण्डिया’, ‘हिन्दुस्तान टाइम्स’ वा ‘न्यूर्योक टाइम्स’को उदाहरण दिँदै पत्रकारिता गर्नुपर्ने वा पत्रकारिता पढनु पर्ने अवस्थामा ‘कान्तिपुर’, ‘दि काठमाण्डु पोष्ट’ लगायत अन्य ब्रोडशीट समाचारपत्रहरुको चाखलाग्दो उदय र विस्तार भयो ।
बीस बर्षपछि आज यी प्रश्नहरु सान्र्दभिक छन्– नेपाली पत्रकारितालाई संस्थागत गर्न, अझ व्यवसायिक बनाउँन, बदलिंदो राजनैतिक व्यवस्था अन्तर्गत कान्तिपुरले के कस्ता भूमिकाहरु निर्वाह गरेको छ, के कस्ता उदाहरणहरु प्रस्तुत गरेको छ ?
केहि उपख्यान वाहेक यी प्रश्नहरुको ठोस उत्तर दिन त्यति संभव छैन । यसका लागि एउटा गहन अध्ययन नै आवश्यक छ । पश्चिमेली मुलुकहरुमा पत्रकारिता इतिहासका विज्ञहरुले भन्ने गरेका छन्, विधिवत् अध्ययन–आँकलनका लागि सबै खाले प्रश्नहरु सँधै व्यवहारिक हुँदैनन् र न्यायोचित पनि हुँदैनन् । बामे सर्ने उमेरको बालक किन हिंड्दैन भन्नु एउटा त्यस्तो उदाहरण हो । सामान्यतया पश्चिमेली देशहरुमा पत्रकारिता इतिहासको मूल्यांकन देशमा विद्यमान पत्रकारिताको विकासको अवस्था हेरेर संस्थागत सामाजिक र साँस्कृतिक क्रमशः तीन दृष्टिकोणबाट हुने गरेको छ । किशोर अवस्थाको पत्रकारिताको मूलभूत मुद्दा त्यसलाई कसरी संस्थागत गर्ने भन्ने नै हो । यसमा मुख्यतः देशको तात्कालिन परिवेश (जस्त,ै संवैधानिक प्रावधानहरु, प्रेश स्वतन्त्रता सम्बन्धी नियम कानूनहरु) स्वतन्त्र र निष्पक्ष पत्रकारिता गर्ने संस्थाहरुको उदय, विस्तार र सुदृढिकरण अनि पत्रकारिता सम्बन्धी अन्य सरकारी, गैरसरकारी र व्यवसायिक संघ–संगठनहरुसँग तिनको अन्तरसम्बन्ध सरोरकारका बिषय बनेका छन् ।
स्पष्ट छ, नेपालको अनुभव त्यस्तो टड्कारोरुपमा भिन्न देखिंदैन यद्यपि यस संक्रमणकालमा पत्रकारहरुको सुरक्षा संभवत सबैभन्दा प्रखर मुद्दा बनेको छ । एक शताब्दी भन्दा अघि ‘गोरखापत्र’ स्थापनादेखि राणाकाल अनि प्रजातन्त्र स्थापनापरान्त पत्रकारिता इतिहास केलाउने अपूर्व जमर्को गर्दा विज्ञ गृष्म वहादुर देवकोटाले यिनै र यस्तै संस्थागत विषयहरु समेटे । देवकोटोको आंकलन पछि चार दशक वितिसके, नेपाली पत्रकारिताको मुद्दा उहि छ– यसलाई कसरी संस्थागत गर्ने, कसरी व्यवसायिक बनाउने, यस क्षेत्रका उद्यमीहरु र खास गरी पत्रकारहरुको हक हित र जीवनवृत्ति कसरी सुरक्षित गर्ने ?
देवकोटाको झैं एउटै ‘ग्रान्ड न्यारेटिभ’ (महान गाथा) हाम्रो पत्रकारितामा पुनः नलेखिए पनि वहुलवादी संवेदनशीलता प्रतिविम्बित हुने गरी आजभोलि संस्थागत इतिहास ‘विविध गाथा’ को रुपमा लेख्न थालिएको छ । भाषिक, लैङ्गिक, जातिय समावेशीकरण, गणतान्त्रिक ढाँचा, नयाँ प्रविधिहरुको ग्रहण आदि संस्थागत इतिहासका नयाँ विषहरु बनेका छन् ।
आज पत्रकारिताको कुरा गर्दा नाकै मात्र खुम्चाउनु पर्ने अवस्था छैन, बुढी औला उठाउन पाइने अवसरहरु पनि देख्न सकिन्छ । नियमित प्रतिक्रियाहरु प्रायशः मिश्रित हुने गर्छन– संख्यात्मकरुपमा नेपाली मिडियाको उल्लेखनीय वृद्धि भएकै हो । माध्यमहरुको स्वरुपमा पनि विविधता (छापा, प्रसारण, नयाँ मिडिया, मोबाइल आदि) थपिएकै हो । तर गुणात्मकरुपमा यस क्षेत्रले त्यति उपलब्धी देख्न पाएको छैन । भनिन्छ (कतिपय अवस्थामा देखिन्छ पनि), नेपाली पत्रकारिता राजनैतिकरुपमा पक्षपाती र पूर्वाग्रही छ, यसको व्यापारिकरण अझ द्रूत बनेको छ, र यस क्षेत्रको व्यवसायिकता र नैतिक आचारमा आएको ह्रासले पत्रकारितामाथि बचेखुचेको विश्वसनीयता र यसक्षेत्रको प्रतिष्ठा संकटमा परेको छ ।
संचार माध्यमहरुको विविधिकरण, वृद्धि र विस्तासँगै मिडिया (माध्यम) का कुरा बढि र पत्रकारिताका कुरा कम गर्न थालिएको छ । सार होइन स्वरुपको विगविगि छ । व्यवसायीहरुले गर्ने बहस, संवाद, छलफल वा टिप्पणी अनि अनुसन्धानकर्ता र विद्यार्थीहरुले गर्ने अध्ययन, शोधकार्य र विश्लेषणहरुमा यी दुई पृथक शब्दहरुको प्रयोग समान्यतय एकार्थकरुपमा गरिएको देखिन्छ । हुन त नयाँ मिडियाको यस युगमा पत्रकारितको ‘पत्र’ पुरातन देखिन थालिसक्यो, बरु यस व्यवसायलाई समाचारकारिता वा समाचार व्यवसाय भनिएमा सबै मिडियामा पेशाको मूल मर्म संरक्षित हुने देखिन्छ ।
संस्थागत विकासकै कुरा गर्दा सयौं पत्रपत्रिका, त्यतिकै सँख्यामा रेडियो स्टेशनहरु, दर्जनौं टेलिभिजन च्यानलहरु र दु्रतगतिमा विस्तार हुँदै गइरहेको इन्टरनेट र मोवाइल टेलिफोन सेवाले नेपाली पत्रकारितको भौतिक संरचना विस्तृत र सुदृढ हुँदै गएको स्पष्ट संकेत दिइरहेका छन । यसै प्रसंगमा २०४६ सालको जनआन्दोलन यता र विशेष गरी कान्तिपुर स्थापनाका २० बर्षमा समाचार व्यवसायलाई प्रत्यक्षरुपमा प्रभावित गर्ने मुख्य घटना वा प्रक्रियाहरुबारे संक्षीप्त रुपमा चर्चा गर्नु यहाँनेर सान्दर्भिक हुनेछ ।
विस्तारका घटना वा प्रक्रियालाई प्रचलित स्वरुप वा मिडिया–केन्द्रित संस्थात दृष्टिकोणबाटै हेरौं । समकालीन नेपाली पत्रकारिताको अभ्यासमा आज थुप्रै संस्थाहरु लागि परेका भएपनि नयाँ दिशा, गति र निरन्तरता दिने र विगत दुई दशकमा प्रतिस्पर्धी बन्दै गएको संस्थागत परिवेशलाई परिभाषित गर्ने कोशे ढुंगाको रुपमा केही मिडियाहरुलाई लिन सकिन्छ ।
पहिलो, छापातर्फ कान्तिपुर पब्लिकेशनलाई लिनुपर्ने हुन्छ, यद्यपि यस संस्थाले रेडियो र टेलिभिजन समेत सञ्चालन गर्दै आएको छ । ठोस तथ्याङ्क र विस्तृत अध्ययनको अभावमा कन्तिपुरको लेखाजोखा मूर्तरुपमा गर्न सकिने अवस्था छैन । तैपनि व्यक्तिगत सुझबुझका आधारमा भन्न सकिन्छ, कान्तिपुर नेपालको स्वतन्त्र पत्रकारिताको मुख्य प्रतीक बन्न पुग्यो । यसले पत्रकार र पत्रकारिताको पुरातन् रुढिबादी छविलाई धेरै हदसम्म पखाल्न सहयोग पुर्यायो । खासगरी ‘वाच डग’ भूमिका खेल्दै सत्ताशीन राजनैतिक पार्टी र अन्य शक्ति केन्द्रहरुमाथि रखवाली गर्दै आयो, भलैे त्यो रखवाली सँधै समान वा सुसंगत किन नरहोस् ।
पत्रकारिताको ‘एडभर्सरियल’ (जुझारु) पद्दति अपनाउँदै आएको यो पब्लिकेशन स्वभावतः वैचारिकरुपमा मध्यममार्गबाट बायाँतर्फ झुक्ने गरेको भएतापनि कतिपय घटना र मुद्दाहरुमा सिद्धान्ततः विचलित पनि देखिन पुग्यो । यसैकारण यस्को सम्पादकीय वा प्रकाशाकीय नीति सँधै स्थीर र स्पष्ट हुँदैनन् भन्ने टिप्पणी पनि सुन्न पाइन्छ । जेहोस्, कान्तिपुरको समाचार प्रवाहमा राष्ट्रका थुप्रै घटना र काण्डहरु समेटिएका छन्, जस्त, महाकाली, कालापानी, २०५२ ताका हुम्लाको अनिकाल, माओवादी युद्ध र पछि आएर शाही शासन विरुद्धको सक्रियता । ‘काण्ड’हरु चाहे त्यो वाटरगेट वा पेन्टागन पेपर्स होस् वा बोफोर्स वा चेज एयर, पत्रकारिताको संस्थागत इतिहासका चाख लाग्दा विषयहरु बन्दै आएका छन् ।
कान्तिपुरको संस्थागत इतिहासको अर्को पक्ष हो व्यवस्थापन वा बजार प्रवद्र्धनमा यस संस्थाले गरेका प्रयोगहरु । पारिवारिक पकडमा रहेको भएतापनि यसले कर्पोरेट छवि प्रतिबिम्बित गर्न खोज्दै बजारमुखी योजना, अभियान र कार्यक्रमहरु ल्याएर राजधानी केन्द्रित पत्रकारितलाई गाउँ शहरमा पुर्यायो । बढीभन्दा बढी ग्राहक र विज्ञापनदाताहरुमा पहुँच पुर्याउने यसको रणनीतिले प्रतिस्पर्धालाई अझ तीब्र पार्दै लग्यो । अर्को उल्लेखनीय कुरा के हो भने एउटै छातामुनी बहुमाध्यमहरु सञ्चालन गरी यसले नेपालमा पहिलो पल्ट आफनै ‘मार्केट सिनाजीर्’ सृजना गर्यो यद्यपि त्यसो गर्दा यसले बजार एकाधिकार गर्न खोजेको कटु आलोचना पनि बहन गर्यो ।
अर्को कुरा, यसले क्षेत्रीय र परदेशी संस्करण प्रकाशनको नयाँ परिपाटी शुरु गरी आफ्नो पहुँचलाई अझ व्यापक बनाउदै गयो । नयाँ प्रविधिको प्रयोग र प्रशिक्षित श्रमजीवीहरुको बढ्दो उपलब्धताबाट नयाँ शैली र प्रस्तुती सहितका उत्पादन बजारमा ल्याएर पत्रकारिताको ढाँचा र स्वरुपलाई परिष्कृत पनि गर्दै लग्यो । यी र अन्य मिडिया हाउसका यस्तै गतिविधिले के इन्ङ्गित गर्छन् भने नेपालमा अब मिडिया म्यानेजमेन्ट पनि संस्थागत इतिहासको एउटा महत्वपूर्ण पाटो बन्दै गएको छ ।
संस्थागत अर्को महत्वपूर्ण पक्ष हो न्यूजरुम वा सम्पादकीय संरचना । संरचनागत, व्यवसायिक र प्रकाशकीय कतिपय कमी कमजोरीहरुका बावजुद कान्तिपुरले अन्य प्रकाशन गृहहरुको तुलनामा अझ विविध विषय वा वीटहरु समेट्दै आएको र यसका लागि उत्तिकै संख्यामा पत्रकारहरुपनि नियुक्त गर्ने गरेको सुनिन्छ । तथ्य जे भएपनि झट्ट संझदा अधिकाँश परिचित नेपाली वाइलाइन कान्तिपुरसँगै सम्बन्धित रहेको पाइन्छ । श्रमजीवी पत्रकारहरुकै अनुसार पनि नियमितरुपमा तलब उपलब्ध गराउँने थोरै समाचार संस्थाहरु मध्ये कान्तिपुर पर्दछ । अझै पनि कान्तिपुरमा राजनैतिक सामाचार र घटना प्रधान विषयहरुको बाहुल्यता महशसूुस हुने गरेपनि यहाँका पत्रकारहरुले परम्परागत पत्रकारिताको पर्खाल भत्काउँदै, खासगरी फिचर र विचार पत्रकारितामा पनि केही हदसम्म प्रयोगहरु गरेको देखिन्छ । अर्को तहमा कान्तिपुरले अन्य कतिपय सामाचार संस्थाहरु सरह पत्रकारहरुलाई अन्य पेशामा लाग्नु अघि प्रशिक्षण मञ्चको रुपमा सेवा प्रदान पनि गरेको छ ।
कान्तिपुरपछि थुप्रै पत्रपत्रिका नआएका होइनन् र तिनले कतिपय विधामा नयाँ आयाम पनि नथपेका होइनन् । कम्तीमा पनि निजी क्षेत्रको अग्रणी ब्रोडशीट समाचारपत्रकारुपमा ‘कान्तिपुर’ र यसको अंग्रेजी सह–प्रकाशन ‘दि काठमाण्डु पोष्ट’लाई आधुनिक नेपाली पत्रकारिताका उदाहरणको रुपमा लिनै पर्ने हुन्छ ।
विगत दुई दशकमा देखिएको निजी क्षेत्रको संस्थागत अर्को फड्को थियो सन् १९९७ मा रेडियो सगरमाथाको स्थापना । वर्षौको संघर्षपछि सरकारबाट सशर्त प्रशारण अनुमति प्राप्त गरी यसले रेडियोमा राज्यको पचासौं वर्षदेखिको एकाधिकारलाई तोडिदियो । वास्तवमा यो दक्षिण एशियाकै पहिलो स्वतन्त्र सामुदायिक रेडियो स्टेशन बन्न पुग्यो । थप कुरा, मिडिया व्यापारमुखी मात्र होइन, यसको सामाजिक दायित्व पनि हुन्छ र त्यसका लागि विकट पहाडी क्षेत्रहरुले भरिएको नेपाल जस्तो मुलुकमा सामुदायिक रेडियो सञ्चालन गर्नु स्थानीय जनताका लागि नितान्त फलदायी हुन्छ भन्ने मान्यतालाई सगरमाथाले अगाडि बढायो ।
नागरिक समाज वा संस्थाहरुले जनताको हक अधिकार र सामाजिक परिवर्तनका लागि संगठितरुपमा प्रयास गरे संकुचित सरकारी मानसिकतालाई पनि उदार बनाउँन सकिंदो रहेछ भन्ने दृष्टान्त पत्रकारिता क्षेत्रमा यस रेडियोको स्थापना र सञ्चालनले देखायो । फलतः आज नेपालमा झण्डै ४ सय एफ.एम.रेडियो स्टेशनले स्थानीयस्तरमा जनताका आवाजको मध्यस्तता गर्दैछन् । निजी हुन वा सामुदायिक, धेरै जसो स्टेशन लोकतन्त्रलाई प्रत्यक्षरुपमा व्यवहारमा उतार्ने स्थानीय मञ्च बनेका छन् । कतिपय यस्ता स्टेशनहरु सरकार नपुग्ने ठाउँमा खुलेका छन । व्यवहारमा रेडियो पत्रकारिताको कार्यविधि, विषयवस्तु गुणात्मक पक्षलाई विस्तृत र मिहिन ढंगमा हेर्न वाँकी नै छ, तर राजनैतिक शक्ति, दातृ संस्था र स्थानीय समुदाय सबैका लागि एफ.एम.रेडियो आज अनिवार्य बनेको छ । रेडियो पत्रकार र उद्यमीहरु संगठित हुँदै जानु र रेडियो सञ्चालहरुको विकास हुनुले पनि यो क्षेत्र सुढृद बन्दै गएको भान हुन्छ ।
यस अवधिमा टेलिभिजन माध्यममा देखिएको छलाङ्ग थियो देशकै पहिलो निजी क्षेत्रको टेलिभिजन ‘च्यानल नेपाल’को स्थापना । सन् २००१ मा प्रशारणमा शुरु गरेको यो स्टेशन नेपालको पहिलो केबुल सेट्लाइट च्यानल बन्न पुग्यो । विदेशी भू–उपग्रहसँग अप–लिङ्क गरी प्रसारण गर्नु तत्कालिन अवस्थामा प्राविधिक चुनौती थियो । यसरी राज्यद्धारा संचालित नेपाल टेलिभिजनको २० वर्ष देखिको यस क्षेत्रको एकाधिकार पनि समाप्त भयो । चाँडै नै निजी क्षेत्रमा कान्तिपुर, इमेज च्यानल जस्ता नयाँ स्टेशनहरु स्थापना हुनुले श्रव्यदृश्य पत्रकारिताको संभाव्यता पनि बढेर गयो । सूचना र मनोरञ्जनका लागि विदेशी च्यानलहरुमा निर्भर हुनुपर्ने अवस्था न्यून हुँदै गयो ।
आज देशमा सञ्चालनमा रहेका टेलिभिजन स्टेशनहरुको संख्या एक दर्र्जन नाघिसकेको छ । कतिपय स्टेशनहरु क्षेत्रीय शहरहरुमा पनि सञ्चालित छन् । टेलिभिजन बजार बाक्लिंदै जाँदा, डेढसय भन्दा बढि केबुल अपरेटरहरु मार्फत ९१ विदेशी च्यानलहरु हेर्न सकिने हुँदा र डाइरेक्ट–टु–होम टेलिभिजन सेवा उपलब्ध हुनुले बजारमा प्रतिस्पर्धा तीब्र बन्दै गएको छ । यसले कतिपय च्यानलहरुलाई नयाँ प्रविधि भित्र्याउँन, कार्यक्रमको ढाँचा र प्रस्तुती पुनरावलोकन गर्न र वजार विस्तार गर्न बाध्य बनाएको छ । उदारहणका लागि नेपाल टेलिभिजनको मेट्रो च्यानल स्थापना, यसको स्थलीय, भूउपग्रहीय र डिजिटल नेटवर्किङको विस्तार, अमेरिकामा कान्तिपुर टि.भी. प्रसारणको व्यवस्था आदिलाई लिन सकिन्छ ।
स्वदेशी टेलिभिजनको बजार उद्योगन्मुख बन्दै गएपनि यिनका उत्पादन, कार्यक्रम र उपयोगबारे विस्तृत मूल्यांकन हुन वाँकी नै छ । यति भन्न सकिन्छ, सामान्यतया टेलिभिजन पत्रकारिता भन्दा पनि मनोरञ्जन र वादविवादको मञ्च र विज्ञापनको बजार बनेको छ ।
नयाँ मिडिया पनि नेपाली समाचार माध्यमको पछिल्लो संस्थागत उदाहरण हो । इन्टरनेट, मोवाइल वा एप्लिकेशनहरुमा आधारित वेवसाइट, एसएमएस, ब्लग, पोर्टल, पोडकास्ट, सामाजिक सञ्जालहरु यसका उदाहरण हुन् । नयाँ मिडियाको स्वरुप नितान्त विसर्जित र विकेन्द्रिकृत भएकोले यो निरन्तर परिवर्तनको क्रममा छ । नयाँ अभ्यास र प्रयोगहरु दिगो बन्न सकिरहेका छैनन । देशमा इन्टरनेटको प्रवेश सन् १९९३ मा भएतापनि ९० को दशकमा एकाध समाचार पोर्टलहरु शुरु भए । यिनले गर्ने अनलाइन पत्रकारिता मौलिक नभै छापा माध्यमका सामग्रीहरुको पुन प्रकाशन हुने गथ्र्यो । सन् २००० पछि, खासगरी शाही शासन कालताका मात्र नेपाली अनलाइन समाचार पोर्टल र ब्लगहरुको उल्लेखनीय विस्तार हुन गयो ।
केहि वर्ष यता इन्टरनेट र मोबाइल टेलिफोनको प्रयोग दु्रत गतिमा बढ्दै जाँदा सूचना र समाचार आदानप्रदानका लागि एसएमएस अनि ट्विटर र फेसबुक जस्ता सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । देशका थुप्रै समाचार सँस्थाहरु र तिनका उत्पादनहरु वेबसाइट र सोसल मिडियामा उपलब्ध हुन थालेका छन् । कतिपयले अनलाइनका लागि छुट्टै विशेष सामग्रीहरु पनि तयार गर्छन् । विदेशमा बस्ने नेपालीहरुले पनि उल्लेखनीय संख्यामा समाचार साइटहरु चलाउँदै आएका छन् । तैपनि व्यवसायिक, गुणस्तरीय र नाफामूलक नेपाली अनलाइन पत्रकारिताको विशिष्ट प्रयोगको उदाहरण भने अहिलेसम्म देख्न पाइएको छैन ।
नेपालमा अझैपनि परम्परागत संचार माध्यमहरुको प्रभूत्व छ । तर इन्टरनेट र मोबाइल टेलिफोनको विस्तार हुँदै जाँदा नेपाली सामाचार व्यवसायको भबिष्य पनि नयाँ मिडियामै हुनेछ । पत्रकारिताको दायरालाई नयाँ मिडियाले फराकिलो पार्दै लगेकोले आम नागरिक अनौपचारिक रुपमै भएपनि पत्रकार बन्न सक्ने अवस्था सृजना हुदैछ ।
स्पष्ट छ, नेपाली मिडियाको धरातल चौतर्फीरुपमा अझ फराकिलो, स्वतन्त्र र सुदृुढ बन्ने क्रममा छ । तर शुरुमै भने भंmै पत्रकारिताको इतिहास केलाउन संस्थागत गाथाले मात्र पुग्दैन । पत्रकारिता झाँगिदै र मौलाउदै जाँदा सामाजिक र सास्कृतिक दृष्टिमा पनि यसको मूल्यांकन हुनुपर्छ । अमेरिकी प्राध्यापक डेविड नर्डले सामाजिक इतिहास नपहिल्याइ राम्रो सांस्कृतिक इतिहास लेख्न नसकिने जिकिर गरेका छन् । मिडिया केन्द्रित संस्थागत इतिहासले पत्रकारिता पनि समाजकै एउटा अंग हो भन्ने कुरालाई नजरअन्दाज गर्न खोज्छ । मिडिया सन्देश, उत्पादन संरचना, उपयोगका प्रकृया, परिस्थिति र मान्यताहरुबारे सामाजिक इतिहासले प्रश्नहरु उठाउँछ । यस क्षेत्रमा नेपालमा धेरै काम हुन बाँकी छ ।
यस्तै, अर्को चरणमा मिडियाको अझ विकास र विस्तार हुदै जाँदा साँस्कृतिक दृष्टिकोणबाट पनि यसको बढि मूल्यांकन हुन थाल्ने छ । जस्तै, कुनै कालखण्ड वा परिवेशमा मिडियोको विकास र परिवर्तनका मुख्य कारक तत्वहरु के हुन सक्छन् ? अमेरिकी पत्रकारिताको साँस्कृतिक इतिहासका ज्ञाता जेम्स केरेले अझ गहन विश्लेषणको आव्हान गरेका छन्– समाचार संकलनका प्र्रक्रिया, समाचारको संस्थागत स्वरुप वा अधिकार र स्वतन्त्रताका परिभाषासँग कुनै समाजको स्वचेतना कसरी संगठित भएको हुन्छ, त्यसलाई प्रष्ट पार्नु पर्छ ।
आउँदा दिनमा नेपाली पत्रकारिताको इतिहासले यस्ता प्रश्नहरुको बढी सामना गर्नुपर्ने छ ।
लेखक मिडिया फाउण्डेसनका सचिव हुन् ।
0 comments:
Post a Comment